नियम ३४घ
कार्यतालिका निर्माण र परिमार्जन
(१) फिरादपत्र, पुनरावेदनपत्र, रिट निवेदन वा मुद्दा सरह कारबाही हुने अन्य निवेदन दर्ता गर्दा रजिष्ट्रारले त्यस्तो मुद्दाको लागि तोकिएको मार्गसमूह यकीन गरी सोको कार्यतालिका प्रमाणित गर्नुपर्नेछ।

(२) मुद्दामा दुवै पक्षको तारिख मिलान भए पछिको पहिलो सुनुवाइको दिन र पूर्व सुनुवाइ छलफल हुने भएमा सो दिन सम्बन्धित इजलासले उपस्थित मुद्दाका पक्ष वा निजको वारिस वा कानून व्यवसायीसँग छलफल गरी बाँकी कार्य सम्पन्न गर्नका लागि कार्यतालिकामा परिमार्जनगर्न आदेश दिन सक्नेछ।

तर मुद्दाको कुनै पक्ष उपस्थित नभएको कारणले मात्र मुद्दाको कार्यतालिका परिवर्तन गर्न बाधा पर्ने छैन।

(३) उपनियम (२) बमोजिम आदेश भएमा रजिष्ट्रारले कार्यतालिकामा परिमार्जन र प्रमाणित गरी उपस्थित पक्षलाई उपलब्ध गराउनु पर्नेछ।

(४) उपनियम (१) वा (३) बमोजिम प्रमाणित कार्यतालिका अनुसार कुनै कारबाही निर्धारित मितिमा सम्पन्न हुन नसकेमा रजिष्टरारले मुख्य न्यायाधीश वा इजलासको निर्देशनमा रही कारण खोली फैसलाका लागि निर्धारित मिति ननाघ्ने गरी कार्यतालिका परिमार्जन गर्न सक्नेछ।

(५) उपनियम (४) बमोजिम कार्यतालिका संशोधन गर्दा मुद्दाका पक्षहरुको कुनै प्रतिक्रिया भए सो समेत लाई विचार गर्न सकिनेछ। (६) यस नियम बमोजिम कार्यतालिकामा उल्लेख गरेको कुनै काम गर्नु नपर्ने अवस्था परेमा वा तोकिएको कार्यअगाबै सम्पन्न भएमा त्यस्तो मुद्दामा अगावै कारबाही र किनारा गर्न सकिनेछ।